Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

‘यसरी खेल्दै आएको छ नागरिकतामा भारतले’

सोमबार, कार्तिक २९, २०७३

india-s-spectacular-policy-failure-in-nepal-802-x-460शेर बहादुर देउवाले व्हिस्की चिरिप्प पारेर चुरोट तान्दै भने,‘अहिले पाँच लाखले नागरिकता पाउँछन् भने पनि पाउन्, अहिले नागरिकता नदिए दस वर्षपछि दस लाखलाई दिनुपर्ने हुन्छ, त्यसरी साध्य हुन्छ ?’ त्यसबेला एमालेको नौ महिने सरकार थियो, देउवा प्रमुख प्रतिपक्षी नेता थिए । काठमाडौंको याक एण्ड यति होटलमा एउटा कार्यक्रम सकिएपछि खानपिन र अनौपचारिक गफगाफमा देउवाले केही पत्रकार र बुद्धिजीवी बीच त्यसो भनेको यो पंक्तिकार झल्झली सम्झन्छ । जसलाई विगतमा पनि केही ठाउँमा लोखिसकिएको छ । देउवासँग नागरिकता ऐन संशोधनको कुरा गर्नुको कारण थियो-उनी त्यसअघि गृहमन्त्री थिए र नागरिकता ऐन संशोधन विधेयक गृह मन्त्रालयले बनाउनु थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नागरिकताको मुद्दा झन चर्किएर सतहमा आयो । त्यसबेला नागरिकताको मामिलामा अहिले जसरी भारत पर्दा बाहिर देखिँदैनथ्यो, पर्दा पछाडि नै थियो । तैपनि भारतको स्वार्थ नम्बर एक भनेको नेपालमा आफ्नो जनसंख्या स्थापित गर्नु हो भनेर बुझ्नेहरुको जमात बढ्दै थियो ।

२०४६ सालपछि नागरिकता टेबलमाथि र मुनि दुवैतिरबाट बाँडियो । देउवाले भने जसरी पाँच लाखलाई नागरिकता बाँडेर ढोका लगाउने काम पनि सम्भव भएन । नागरिकता बाँड्न दरबार बाधक भयो, विधेयक सर्वोच्च अदालत पठाइयो । कतिपयले दरबार हत्याकाण्डको पृष्ठभूमि नागरिकता विधेयक अस्वीकार गर्नाले तयार भएको भन्ने गरेका छन् । त्यो साँझ देउवाले नागरिकता बाँडिहाल्नुपर्छ र थप नागरिक भित्रिने ढोका बन्द गरिहाल्नुपर्छ भनेका थिए । नागरिकता बाँड्नु ठूलो कुरा होइन, ढोका बन्द गर्नु चाहिँ ठूलो कुरा हो भन्ने उनको विचार थियो । तर, नागरिकताको ढोका बारम्बार खुल्यो तर बन्द चाहिँ भएन । नागरिकता समस्या समाधानको नाममा जेजति प्रयास गरिए त्यसले नागरिकता वितरणको ढोका बन्द हुनुको साटो झनझन खुल्दै गएको तथ्य हाम्रा सामु छ । बहुदल कालभरि नागरिकता एक खतरनाक मुद्दाका रुपमा रह्यो तर सतहमा कहिले पनि बहसको एक नम्बर विषय बनेन । नागरिकतामा आफ्नो कति ठूलो स्वार्थ छ भन्ने भारतले सधैँ लुकायो तर अहिले चाहिँ छर्लङग भएको छ । भारतले आफ्नो प्रमुख स्वार्थ नेपालको प्राकृतिक सम्पदा र नदीनाला हो भन्ने देखायो तर यी सम्पदा प्राप्त गर्न उसले दिर्घकालीन रणनीति अनुसार आफ्ना नागरिकलाई नेपाल घुसाइरहेको छ भन्ने बुझेर पनि धेरैले बुझपचाए ।