Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले…

आइतबार, असोज ९, २०७३

दसैँ भन्ने बित्तिकै हामी प्राय: पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभैँसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । वेद र उपनिषद्का दर्जनौँ पङ्क्तिले हिंसालाई निषेध गरेका छन् । तर पनि धर्म र संस्कारका नाममा हिन्दू मात्र होइन, संसारका प्रायः सबै धर्म, सम्प्रदायले हिंसा र हिंसाबाट प्राप्त हुने भोजनलाई आफ्ना पर्व र संस्कारको अङ्ग बनाएका छन् । मासु र पशुबधको सन्दर्भ जोडिएको दसैं पर्व आउनै लाग्दा राजधानीको थिएटर मल (काठमाडौँ मल, सुन्धारा)मा त्यस्तै प्रेम, पशुहिंसा र संस्कारको सन्दर्भ जोडिएको नाटक प्रस्तुत भयो शनिबार ।

300px-sword_of_magic_fog_photoदुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक हुन् अजय अधिकारी सुशील । दसैँको सन्दर्भ पारेर मात्र एक दिनका लागि मञ्चन गरिएको नाटक शनिबार दुई सो चलाइएको थियो । एकै दिन मात्र प्रदर्शन भएका कारण होला, कतिपय दर्शक टिकट नपाएर घर फर्केका थिए । कथा सामान्य छ, गाउँमा एक सज्जन र सम्पन्न काजीबा छन् । उनी आफ्नो छुकछुके नातिसँग गफिन र खेल्न मन पराउँछन् । कसैको दुःख देख्न चाहँदैनन् । तर उनलाई काटमारको भने खुब सोख छ । उनी आफ्नो अति नै प्यारो नातिसँग तरबारमा धार लगाउनसमेत आफैँ आरन पुग्छन् । तर एक रात काजीबा डरलाग्दो सपना देख्छन् । उनी यमराजको द्वारमा लगिएका हुन्छन् । यमराजको द्वारमा पहिले बलि दिएका र हत्या गरिएका प्राणीसमेत हुन्छन् र काजीबाले आफूहरुको हत्या गरेकाले काजीलाई उचित सजाय दिन भन्दै यमराजसँग जनावरले माग गर्छन् । तर काजीबाले आफ्नो जीवनकालमा सत्कर्म र सेवासमेत गरेकाले यमराज उनलाई तत्काल कठोर सजाय दिनु उचित ठान्दैनन् र उनलाई बाख्राकै पाठो बनाएर काजीबाकै घरमा जन्म दिने निर्णय गरिन्छ ।

काजीबा आफ्नो नातिसँग पाठोकै रुपमा मात्र भए पनि भेट्न पाइने भयो भन्दै रमाउँछन् । बाख्राको पाठो बनेर आफ्नै घरमा जन्मेपछि काजीबा अब आफ्नो नातिसँग रमाउँदै खेल्छन् । उनलाई त्यसमा बडो आनन्द आउँछ । बडादसैँको महाष्टमीको दिन आउँछ र बोकाको रुपमा जन्मेका काजीबालाई उनका आफ्नै छोराले मार हान्न तयार हुन्छन् । यो देखेर काजीबा आत्तिन्छन् र ‘मलाई नमार– नमार’ भन्दै कराउँछन् । ओछ्यानमा सुतेका काजीबा नमार नमार भनेर बर्बराएपछि घरमा कोहोलो मच्चिन्छ । अल्लिबेर श्रीमती र बुहारीले चिच्याएर बोलाएपछि मात्र काजीबा ब्युँझन्छन् र आफूले देखेको अचम्मलाग्दो सपनाको व्याख्या गर्छन् । नाटकलाई बिट मार्दै काजीबा बोल्छन् ‘हतियारप्रतिको मेरो मोह, हिंसाप्रतिको मेरो रुचि अनावश्यक रहेछ । उस्तै माया, दया र प्रेमका भोका प्राणीलाई मारेर हामी गल्ती गर्दैछौँ ।’ यसो भन्दै काजीबा सिरानमा राखिएको तरबार फ्याँकिदिन्छन र उद्घोष गर्छन्, “हे जगतजननी दुर्गा, यो जगत्का तिम्रा सबै सन्ततिलाई उत्तिकै प्रेम, करुणा र दयाको भाव जगाइदेऊ । म तिमीले नै सिर्जना गरेका निमुखा प्राणीलाई मारेर कहिल्यै खान्न । म मासु अबदेखि खान्न ।” हल र व्यवस्थापनको चुनौती रहेकाले नाटक एक सो मात्र चलाइएको तर सम्भव भएसम्म दसैँअघि अरू केही सो समेत चलाउन सकिने नाटकका परिकल्पनाकार दुर्गा दाहालले बताएका छन् ।