Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

बेपत्ता परिवारको चाडपर्व रुवाबासीमै

मंगलबार, कार्तिक ०९, २०७३

tika-jamara1“दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दसैँ रुवाबासीमै बित्यो । तिहार र छठ पर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको छ । जवानीमै सिउँदो पुछिएका श्रीमती, बूढेसकालको सहारा गुमाएका आमाहरु, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो बाटोमा हिँडाउने मातापिता गुमाएका सन्तान वा दाजुभाइ तथा दिदीबहिनी गुमाएका आफन्त सबैमा यो दसैँ तिहारले थप पीडा दिएको परिवारका सदस्यले बताएका छन् ।

दसैँ तिहार र छठजस्ता महान चाडपर्व नजिकिन थालेपछि परदेसीएका प्रवासी घर सम्झेर आउँन थालेसँगै बेपत्ता परिवारमा रुवाबासी सुरु हुन थालेको हो । यसरी अन्य परिवारका प्रवासी घर फर्कदा बेपत्ता पारिएका आफन्तको सम्झनाले थप पीडा दिने गरेको बेपत्ता परिवारका सदस्यले बताए । अझ दसैँको टीका जमरा र तिहारको देउसी भैलोले बेपत्ता परिवारमा उत्साहको साटो पीडा थप्ने उनीहरुको भनाइ छ । “हाम्रा आफन्त पनि बेपत्ता नपारिएको भए यसरी नै धन कमाएर चाडपर्वका बेला घर फर्कन्थे होल बडाचौर– ८ रोल्पाका भक्तबहादुर सुनारले निराश हुँदै भने ।”

सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिएका थिए । “म त बाहिर काममा निस्कन्छु मन बुझाउँछु तर उसकी आमाको रुँदारुँदा आँखा बसिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँसु रोक्न सकिदो रहेनछ उनले भने । यो दसैँ तिहारले सुनारको परिवारमा अझ थप पीडा निम्त्याएको छ । यस्तै उमेरले ७० वसन्त पार गरिसकेकी जेलवाङ– ४ रोल्पाकी गौना बूढाले वर्षाै बितिसक्दासम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसकेका छन् । अब छोरो मरेको खबर सुन्न पाए मन बुझाउने थिएँ उनले भक्कानिदै भने । कहिलेकाँही छोरो सपनामा आएको देख्दा निकै खुसी हुन्छु । तर सपनाबाट ब्यूझिँदा मन बुझाउन निकै गाह्रो हुन्छ । उनी भक्कानिए ।

विसं २०५५ दशवर्षे सशस्त्र युद्धका समयमा गाईवस्तु चराउन गएको १४ वर्षीय छोरा नलै बूढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उनको अत्तोपत्तो छैन । बूढेसकालमा जन्मिएको एक मात्र छोरो बाँचुञ्जेल पालोस मरेपनि चितासम्म पुर्याओस् भन्ने बूढाको सपना थियो । तर बिचमै तोडियो । उनका १२ सन्तान जन्मिएकोमा ८ जना मरे, बचेका ३ छोरी विवाह गरेर गएँ । आफ्नो बूढेसकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । केही महिनाअघि श्रीमान् शङ्करे बूढाको पनि छोराको यादमा तड्पि/तड्पि मृत्यु भएपछि गौना बूढा असहाय बनेका छन् । छोरो भएको भए बुहारी हुन्थी, नाती नातिनी हुन्थे यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो उनले मीठो कल्पना सुनाउदै भने,”कति हिउँद बिते कति वर्षाऋुतु मौसम बदलियो, ऋतु बदलियो तर मेरो मन बदलिन सकेन” । यस्तै सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओभाएका छैनन् । हाल कान्छी छोरीसँग बस्दै आएकी पुन भन्छिन्,”सबैका छोराहरु चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कदा मन धर्कन्छ । छोराले पढ्यो भने बुढेसकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौं । विनाकारण बाटोबाटै अपहरणमा परी बेपत्ता पारियो अझै सम्म पनि छोराको अत्तोपत्तो छैन । अरुका लागि दशै आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा ।”

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हाल सम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेहरुमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालिन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् । आफन्तको जिउदो मर्दाे खवर नपाउँदा अझैपनि बेपत्ता परिवारका सदस्यहरु तड्पी रहेका छन् । आखिर हाम्रो आफन्तलाई बेपत्ता पारेर के पायो माओबादीले के पायो सरकारले आफन्तहरुको एकमात्र प्रश्न यही नै छ । यस तर्फ सरकारले समयमै चासो दिनुपर्नेमा उनीहरुको जोड छ । यो तिहार र छठ पर्व अगाडि कि बेपत्ता पारिएकाहरुको ज्यान देऊ कि चिहान देऊ । सरकारसग बेपत्ता परिवारका सदस्यहरुले यही माग राखेका छन् ।