Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

पर्यटकको रोजाइ बन्दैछ ‘चट्टान बगैँचा’

बुधबार, असोज १२, २०७३

प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत घेर्मुमा निर्माण गरीएको चट्टानको बगैँचा (रक गार्डेन) पर्यटकको रोजाइमा पर्न थालेको छ । घेर्मु– ९, खानीगाउँमा पर्यटकलाई लक्षित गरी बनाइएको ‘रक गार्डेन’मा दैनिक पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैँचाले आकर्षित गरेको हो । आन्तरिक पर्यटक पनि चट्टानको बगैँचालाई गन्तव्य बनाएर हेर्न खानीगाउँ पुग्ने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भए पनि जिल्लामा पर्यटक भूल्ने ठाउँ नभएको भन्दै खानीगाउँका स्थानीयवासीले ‘रक गार्डेन’ को निर्माण गरेका हुन् । करिब ३०० मिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको चट्टानको भीरमा खोपेर ढुङ्गा काटेर बगैँचा बनाइएको छ । चट्टानको बगैँचा भ्रमणका लागि कम्तीमा ३० मिनेट समय लाग्ने संरक्षण समितिका अध्यक्ष कामसार्की गुरुङले बताए । बगैँचामा भएका ठूला ठूला चट्टानभित्र नै खाने, बस्ने र शौचालयको व्यवस्था गर्न लागेको उनले बताए । “हामी यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउछौँ,” उनले भने ।

चट्टानको बगैँचा हेर्न पुग्नुभएका जिविसका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले प्रकृतिको उपहारको सही सदुपयोग भएको बताए । उनले भने,“हामी बाहिरका कुरा सुन्छौँ, पछि लाग्छौँ, तर यहाँ यस्तो प्रकृतिको उपहार रहेछ, यसलाई महत्व दिन ढिला भयो । यसको प्रवद्र्धन गर्नु हामी सबैको जिम्मेवारी हो ।” ‘रक गार्डेन’ निर्माणमा जिविसले वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत रु ८ लाख सहयोग गरेको छ । स्थानीय आमा समूह, युवा क्लब, समाजले आर्थिक तथा श्रम सहयोग गरेका छन् । गार्डेन संरक्षण समितिका अध्यक्ष गुरुङकाअनुसार यतिबेला ‘रक गार्डेन’ क्षेत्रमा ५८० मिटर लामो घुमाउरो बाटो निर्माण गरिएको छ । बगैँचा भित्रका चट्टानभित्र र बाहिर बाटो निर्माण गरिएको छ । एक चट्टानबाट अर्को चट्टानमा पुग्नको लागि पुल निर्माण गर्नुको साथै ठूला चट्टानमा चढ्नको निम्ती भर्याङ समेत राखिएको छ । चट्टानको बगैँचामा बिजुली सुविधा पुर्याउने, ओडार छिर्ने सुरुङमार्ग, वनभोजस्थल, पोखरी, ढुङ्गेधारा, कम्तीमा ६ वटा चट्टानभित्र बासस्थान, चट्टानमाथि फूल रोप्ने काम भइरहेको छ । प्राकृतिक सौन्दर्यताप्रति विदेशी तथा स्वदेशी पर्यटक पनि आकर्षित हुने भएकाले ओडारको अनुभव, विभिन्न आकार प्रकारमा रहेका चट्टानको आकृति र चट्टानमाथिबाट देखिने प्राकृतिक दृष्यले पर्यटक लोभिएका छन् । सो स्थानबाट उत्तरी लमजुङको प्रख्यात स्याङ्गे झरना, मस्र्याङ्दी नदीको मनोरम दृश्य, जङ्गली जडीबुटी र जनावर देख्न सकिन्छ । गार्डेन अन्नपूर्ण चक्रिय पदमार्गसँगै पर्ने भएकाले पर्यटकले एक दिन यही स्थानमा रात बिताउन सक्ने छन् । सदरमुकाम बेसीशहरबाट २४ किलोमिटरको दूरीमा गार्डेन रहेको छ ।