Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

मौरी वैज्ञानिक सम्मेलन हुने

बिहीबार, असोज १३, २०७३

ghoda_ghodi_mau_1394694239आगामी कात्तिक ७ र ८ गते काठमाडौँस्थित होटेल ह्यातमा प्रथम मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट अफ नेपाल (हार्डिन)ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका आठ देशका वैज्ञानिकको सहभागिता रहनेछ । अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, जर्मनी, अष्ट्रिया, इट्लीका वैज्ञानिकले सो सम्मेलनमा मौरी विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक संस्थाका अध्यक्ष प्रा.डा. रत्न थापाले जानकारी दिए । नेपाल सरकार, कृषि विभाग, व्यावसायिक किट विकास निर्देशनालय र एसियन एग्रिकल्चर, एसोसिएसनले मौरी संरक्षण र मौरीजन्य उत्पादनको प्रवद्र्धन खाद्य सुरक्षा तथा पर्यावरणको संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वमा पाइने ९ प्रजातिकामध्ये नेपालमा मात्र ४ प्रजातिका मौरी पाइन्छन् । नेपालमा हाल १० देखि १५ हजार जङ्गली (भिर मौरी)को गोला रहेको छ । विभिन्न अध्ययनअनुसार ३ देखि ५ वर्षभित्रमा भिर मौरीका गोला नासिन्छन् ।

प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको ४ वर्षपछि सम्पूर्ण मानव जगत् लोपोन्मुख हुनेछ भनी उल्लेख गरेका छन् । अहिलेसम्म मौरी पालन नीति बन्न सकेको छैन । सरकारसँग नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन व्यवसायी र किसानले आग्रह गर्दै आएका छन् । सरकारले मौरी व्यवसायीका लागि मौरी विकास बोर्डको गठन गर्न सकेको छैन तर उपकरणमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालिम, सामग्री, घार तथा अन्य उपकरणमा अनुदान भने उपलब्ध गराउँदै आएको छ । नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरी पालन सुरु भएको इतिहास छ । मौरीपालनबाट करिब ४ हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले जनाएको छ । सङ्घसँग आबद्ध सदस्यले वार्षिक एक हजार मेट्रिक टन मह उत्पादन गरेका छन् ।

सरकारले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र चुनेको छ । नेपाल महमा समेत परनिर्भर भएको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गरेको छ । मुख्यतः नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ । सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकिलो रु २ हजार ५०० सय देखि रु ३ हजार, केरेनाको रु ७०० देखि रु १ हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ । विश्वमा सबैभन्दा बढी मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले बर्सेनि २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ । नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दाबी छ । मौरी पालन व्यवसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यवसाय वातावरणमैत्री व्यवसाय हो । व्यवसायी अर्जुनप्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्तित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ ।