Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

सामान्य कथा, सटिक प्रस्तुति बोकेको मन लुट्ने ‘लभ सासा’

फिल्मले अष्ट्रेलियाबाट नेपाल घरजम गर्न आइपुगेकी सासा (केकी अधिकारी)को कथा भन्छ। उसको इन्गेजमेन्ट नेपालमा व्यापार व्यवसायमा राम्ररी जमेको सिद्दार्थसँग हुने तय भएको छ। अर्कोतर्फ प्रल्हाद (कर्मा) जो पेसाले फोटोग्राफर हो भर्खरै प्रेममा वियोग भोगेको छ। संयोगले पोखरा घर जाँदा बाटोमा गाडी बिग्रेपछि सासाले एक्लै पोखरा हानिएको प्रल्हाद उर्फ पलसँग लिफ्ट माग्ने क्रममा उनीहरूको भेट हुन्छ। उनीहरू साथी बन्छन्।

सासाको कुनै ठूलो सपना छैन्। बिहेलाई उसले बाबुआमा, साथीभाइ आदिबाट पाएको मायाजस्तै, मायाप्रेम पाइने अर्को सम्बन्ध मानेकी छे। ऊ त्यो सम्बन्धबाट उसले पाउदै आइरहेको जस्तो मायाको आशामा छे। उसलाई बिहेपछि त्यो कति कसरी पाइन्छ/पाइदैन जान्न मन छ। मित्रता झ्याङ्गिदै जाँदा ऊ अर्कोसँग बिहे हुनेवाला छ भन्ने जान्दाजान्दै पनि नजानिदो पाराले ढल्किन पर्लसँग थाल्छे। भर्खरै प्रेममा चोट खाएको पर्लले पनि उसमा सामिप्यता खोज्न थाल्छ। यसपछि बढ्ने कथा नै ‘लभ सासा’को कथा हो।

फिल्ममा दन्वद हुनु अति आवश्यक छ। तर, कुन मात्राको भन्ने बारेमा कुनै मापन छैन्, तैपनि यस बारेका पक्षपातीहरू छदैंछन्। कोही बन्दुक र केटीको उपस्थितिलाई फिल्मी पर्दामा ठूलो द्वन्द्व मान्दछन् त कोही पात्रकै मनमा खेल्ने र उसले भोग्ने सामान्य चिजमा नै आफ्नो कथाको द्वन्द्वभेट्दछन्।

प्रचण्डमान श्रेष्ठ निर्देशित ‘लभ सासा’ले पछिल्लो ‘स्टेटमेन्ट’मा आफ्नो कथा भनेको छ। निर्देशक प्रचण्डले आफ्नै सिग्नेचर स्टाइल बनाउन खोजिरहेका नेपाली युवा निर्देशक हुन्। उनको दोस्रो निर्देशकिय ‘लभ सासा’ त्यसैको निरन्तरता हो। उनको फिल्ममा ठूलो भड्याङ्भुडुङ, डड्याङडुडुङ छैन्। एउटा सामान्य कथा छ। पात्र पनि सामान्य नै छन्। प्रचण्डले उनीहरूका मनका इच्छा, आवश्यक्ता र परिस्थितिले निम्त्याएको मानविय दन्वदलाई केलाउँदै झिँजो नलाग्नेगरी आफ्नो कथा भनेका छन्। पात्रहरूलाई केलाउँदै सामान्य कथा भन्ने उनको शैली फिल्ममा प्रभावकारी छ।

सामान्य चिज अन्तवस्तुमा हेर्दा सर्वाधिक जटिल हुन्छन्। ‘लभ सासा’को सामान्य कथा फिल्मका रूपमा भन्नु अत्यन्त जटिल प्रक्रिया थियो, त्यसलाई भन्न प्रचण्ड सफल छन्। उनले कलाकारहरूको अभिनयलाई ‘लाउड’ हुन नदिइ एउटा रफ्तारमा दर्शकलाई खिच्दै कथा भनेका छन्।

प्रचण्डले यसरी कथा भन्न सफल हुनुमा फिल्ममा उनी स्वयमले लेखेको पटकथा हो। फिल्म लेखन र निर्देशन सन्तुलित ढंगले देखिएको छ। कहिकतै पनि उनको एउटा भूमिकाले अर्को भूमिकालाई थिच्ने काम गरेको छैन्। उनले स्क्रिनप्लेलाई दर्शकको मनस्थितिसँगै अगाडी बढाएका छन्।

प्रेमबाट कोही मान्छे पर छैन्। प्रचण्डले लेखकका रूपमा दर्शकका जीवनको कुनै न कुनै प्रकारले जोडिनेगरी कथालाई फिल्ममा उतारेका छन्। दर्शकसँग यसरी फिल्मलाई जोड्न सक्नु उनको खुबी हो, जसको अनुभूति फिल्म हेरिरहँदा दर्शकलाई हुन्छ। संवाद फिल्मको अर्को राम्रो पक्ष हो। दर्शकहरूलाई संवादको शक्ति सामान्य ढंगले नै बुझाउने काम भएको छ।

त्यस्तै ,फिल्मको अभिनय पक्ष पनि स्मरणिय छ। केकी, कर्मा, आसिफ शाहले आ-आफ्नो भूमिकामा राम्रो काम गरेका छन्। उनीहरूले पात्रहरू भित्र रहेको उसको मनोभावनालाई स्वभाविक ढंगले उतारेका छन्। उनीहरूले पर्दामा आ-आफ्नो विशेषता छाडेका छन्।

फिल्ममा क्यामेरा, सम्पादन, ब्याकग्राउन्ड म्यूजिक, संगीत आदिको काम फिल्मका लागि जुन किसिमको हुनुपर्ने हो, त्यस्तै छ। फिल्मको कथा वाचनलाई यी चिजले महत्वपूर्ण सहयोग गरेका छन्।

यति हुँदाहुँदै पनि फिल्म कमजोरी मुक्त भने छैन्। फिल्मलाई जुन बिन्दुमा लगेर प्रचण्डले टुङ्ग्याएका छन्, त्यो भने अनावश्यक छ। त्यत्रा परिचित अनुहारहरूको स्क्रिनमा शोषण गर्नु आवश्यक नै थिएन। सो दृश्य आफ्नो फिल्म जस्तै सामान्य बनाएको भए हुन्थ्यो। त्यस्तै पर्ल र सासाको भेटका लागि पत्रिकामा फोटो छपाउने प्लटको उपस्थिति फिल्ममा उति आवश्यक थिएन र जुन रूपले घुसाइएको छ त्यसको स्क्रिन उपस्थिति दमदार बनाउन फिल्म असफल छ।

समग्रमा ‘लभ सासा’ सामान्य कथाको सटिक प्रस्तुति बोकेको मनै हरर गराउने फिल्म हो। फिल्मले ठूलै ‘मास’लाई अपिल गर्न नसके पनि एउटा ‘क्लास’लाई भने प्रभावित तुल्याउने पक्का छ। एउटा तप्का जसले यस्ता फिल्म हेरेका छन्, उनीहरूले नेपालीपनले लेस एउटा गतिलो फिल्म हेरे भनेर खुशी हुनेछन्। नेपाली फिल्ममा फरक स्वाद खोज्नेहरूले हेर्नैपर्ने फिल्म हो, ‘लभ सासा’।

एउटैखाले फिल्महरू धेरै बनिरहने नेपाली फिल्म उद्योगको परिप्रेक्षमा ‘लभ सासा’ फरक फिल्म हो। फिल्मले किड्नी बेच्दैन्, बैंक पनि लुट्दैन्, दर्शकको मन लुट्छ।