Tuesday 26th September 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

१५ बर्ष सम्म किन छानविन हुँदैन, दरबार हत्याकाण्ड ?

 

आइतबार, मङ्सिर ०५, २०७३

nepali-kingतत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १५ वर्ष बितिसकेको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डपछि  तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विशवास गरिरहेका छैनन  । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ ।

यसकारण अझै संभव छ अनुसन्धान
सुगम घटनास्थल
राजदरबार हत्याकाण्डको घटनास्थल टाढा छैन । यो मुलुकबाहिर भएको घटना पनि होइन । सरकारकै नियन्त्रणमा रहेको नारायणहिटी संग्रहालय तत्कालीन राजदरबारले घटनाको अध्ययन गर्न धेरै आधार दिन्छ । अपराध अनुसन्धान विज्ञहरूका अनुसार, घटना भएपछि भत्काइएको त्रिभुवन सदनको नक्कली नमुना निर्माण पनि गर्न सकिन्छ । कतिपय रहस्यमय घटनामा घटनास्थल नै यकिन गर्न समस्या हुन्छ र ठूलो स्रोत, साधन र समय खर्च गर्नुपर्ने हुन्छ । घटनास्थलसम्बन्धी अस्पष्टताले अनुसन्धानको सुई कता घुमाउने भन्नेसमेत अन्योल सिर्जना गर्छ । तर, घटनास्थलको यकिन अवस्थितिले त्यही ठाउँमा कुन स्वरूपको भवन र अन्य संरचना, भौतिक पूर्वाधार, सजावटका सामग्रीहरू थिए भनेर जस्ताको तस्तै नमुना खडा गर्न सकिन्छ । नमुना भवनभित्र कुन समयमा राजदरबारका कोको सदस्य कहाँ, कुन अवस्थामा थिए भनेर पहिल्याउने आधारहरू पनि प्रशस्तै छन् ।यसले कुन हतियार प्रयोग भयो, कति टाढा वा नजिकबाट प्रहार भयो भन्ने तथ्य स्थापित गर्न मद्दत गर्छ । तत्कालीन युवराज दीपेन्द्र एक्लैले हतियार चलाएको भनिएको छ र एकभन्दा बढी हतियार प्रयोग भएका तथ्य–विवरणहरू आयोगले नै संकलन गरेको छ ।

यस्ता विरोधाभासपूर्ण तथ्य र तिनको व्याख्यामा एकरूपता कायम गर्न घटनास्थलको नमुना विश्लेषणले मद्दत गर्ने अनुसन्धान विज्ञहरू बताउँछन् । अनुसन्धानलाई सत्यनजिक पुर्‍याउन सजिलो बनाउने घटनास्थलका तस्बिर, नक्सा र घटनापछि फेला परेका सरसामग्रीहरू पनि प्रशस्तै छन् । “सामान्यतस् यस्ता घटनामा घटनास्थलको पहुँच र जानकारी नै पहिलो चुनौती हुने गर्छ,” नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, “यस्ता राजनीतिक महत्त्वका र अन्तर्राष्ट्रिय आयामसमेत भएका घटनाहरूको बारदातस्थलसम्म पहुँच हुनु नै अनुसन्धानकर्ताका लागि ठूलो आधार हो । विदेशमा यस्तो घटना भएको भए त्यो ठाउँसम्म पहुँच दिने कि नदिने, हामीले स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाउने कि नपाउने भन्नेसम्मका प्रश्न उठ्न सक्थे । यो घटनामा त्यस्तो समस्या छैन ।”

जीवित साक्षीहरू
यस घटनाका प्रत्यक्षदर्शीदेखि पहिलोपल्ट उद्धार गर्न पुग्नेमध्ये धेरैजसो मुलुकमै छन् । तिनमा पनि सबैजसो परिचित र परिभाषित भूमिकामा छन् ।

हत्याकाण्ड हुँदाका कतिपय घाइते, भोजमा सामेल व्यक्ति, त्यस ठाउँको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिहरू, व्यक्तिगत सुरक्षा अधिकृतहरू र राजदरबारका कामदार रकर्मचारी सहजै उपलब्ध हुन सक्ने अवस्था छ । त्यसैले यो घटनाको अनुसन्धानका लागि सबैभन्दा बलियो आधार र प्रमाण घटनास्थलका प्रत्यक्षदर्शी एवं जीवित साक्षी नै हुन् । उनीहरूको पुनस् बयान लिने हो र तथ्यको अन्वेषण गर्ने हो भने सहजै निष्कर्षमा पुग्न सकिने फौजदारी न्यायप्रणालीका जानकारहरू बताउँछन् । तर, प्रतिवेदन बनाउने या विवरण संकलन गर्नमा सीमित नभई अनुसन्धान गरेर घटनाको सत्यतथ्य वा रहस्य उद्घाटित गर्नका लागि त्यस्तो प्रयास हुनुपर्छ । अनुसन्धान गर्ने उद्देश्यले धेरै न्यायिक आयोगमा रहेर काम गरेका पूर्वनायब महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी भन्छन्, “घटनाका प्रत्यक्षदर्शी एवं घटनाबाट प्रभावित व्यक्तिहरूका बयान नै यस्ता घटनाका महत्त्वपूर्ण प्रमाण हुन् । देखी जान्ने साक्षी नै उपलब्ध छन् भने घटनाको कारण र निष्कर्ष पत्ता लगाउन निकै सहज हुन्छ । र, न्यायिक प्रक्रियामा पनि सघाउ पुग्छ ।” केही मुलुकबाहिर रहेका व्यक्तिहरूलाई पनि अनुसन्धानमा सघाउनका लागि झिकाउन सकिने कानुनी व्यवस्थाको अभाव छैन ।

नेपाल साप्ताहिकमा प्रकाशित समाचारका अनुसार,अनुसन्धान अधिकारीले बोलाउँदा नआउनेलाई इन्टरपोल, कूटनीतिक माध्यम वा द्विदेशीय कानुनी सहायता सम्झौताका आधारमा पनि सोधपुछ तथा सूचना आदानप्रदान गर्न सकिन्छ । आधुनिक सूचना तथा सञ्चार प्रविधिका साधनमार्फत पनि सूचना संकलन गर्न नसकिने होइन । घटनालगत्तै गठन गरिएको न्यायिक जाँचबुझ आयोगले पनि घटनासँग नाम जोडिएकी देवयानी राणा नयाँदिल्ली, भारतमा हुँदा त्यहाँस्थित नेपाली राजदूतावासमा बोलाएरै सोधपुछ गरिएको थियो । भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा भन्छन्, “आयोगले जुन कुरा सोधिदिनू भनेर लिखित प्रश्नावली पठाएको थियो, त्यो जस्ताको तस्तै हामीले उहाँ देवयानी सामु राखिदिएका हौँ । उहाँ त्यतिखेर एकदमै सक्ड हुनुहुन्थ्यो । जेजति कुरा उहाँले भन्न सक्नुभयो, त्यो जस्ताको तस्तै टेप गरेर यता पठाइदिएका हौँ ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केहीअघि बैंकक, थाइल्यान्डमा अपहृत नेपाली विद्यार्थीलाई त्यहीँ गएर उद्धार गरेको थियो भने रणबहादुर बमको हत्यामा सुटरको भूमिका खेलेका सञ्जय स्माइली मगरलाई साउदी अरबबाट झिकाएको थियो । नेपाल र भारतका प्रहरीबीच यस्ता घटनाको अनुसन्धानमा धेरैपटक सहकार्य भइसकेको छ । इन्टरपोल, शान्ति मिसनलगायतमा आबद्धताले पनि यस्ता घटनामा समन्वय र सहकार्य गर्न नेपाल प्रहरीलाई थप सहज बनाउन सक्छ । धेरै साक्षीहरू भने नेपालमै रहेकाले घटनाका पक्षहरूसँग सोधपुछै गर्न नपाउने वा कोही विदेशमा रहेका कारण अनुसन्धान नै अघि बढाउन नसक्ने अवस्था भने छैन । उपलब्ध व्यक्तिहरूले बोल्न नचाहेमा वा सही कुरा नगरेमा सत्य कुरा बकाउने प्रविधि पोलिग्राफी परीक्षासमेत गर्न सकिने प्रहरी अधिकारीहरू बताउँछन् ।

सुरक्षित मेडिकल रिपोर्ट
दरबार हत्याकाण्डका मृतकमध्ये कसैको पनि पोस्टमार्टम गरिएन । खास गरी तत्कालीन मुमाबडामहारानी ९राजाकी आमा० रत्नराज्यलक्ष्मी देवी शाहले ‘जे हुनु भइहाल्यो, राजाको ज्यान चिर्न नदिने’ भनेर अडान लिएका कारण शवहरूको पोस्टमार्टम हुन सकेन । कतिपय त्यही कारण घटनाको गुह्य पत्ता लाग्न नसक्ने आधारका रूपमा प्रस्तुत गर्छन् । नेपाल प्रहरीका एक नायब महानिरीक्षक डीआईजी भन्छन्, “अपराध अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण आदिको सहयोग लिन सकिन्छ तर पोस्टमार्टम रिपोर्ट छैन भन्दैमा कुनै पनि घटनाको अनुसन्धान नै हुन सक्दैन भन्ने तर्क औचित्यपूर्ण छैन ।” उनका अनुसार पोस्टमार्टम रिपोर्ट नै नभए पनि उत्तिकै बलियो प्रमाण र अनुसन्धानका लागि महत्त्वपूर्ण सुराक दिन सक्ने तथ्य मेडिकल रिपोर्ट हो । दरबार हत्याकाण्डका सबै घाइते तथा मृतकहरूको मेडिकल रिपोर्ट राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सुरक्षित छ, जुन अनुसन्धानको सिलसिलामा अख्तियारप्राप्त अधिकारीले झिकाएर अध्ययन गर्न सक्छ । अस्पताल प्रशासनलाई उद्धृत गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्की भन्छन्, “अस्पताल आउने हरेक बिरामीको अभिलेख विवरण हुन्छ ।र, त्यो गोप्य हुन्छ । अहिले भूकम्पका कारण भन्नेबित्तिकै फेला नपरे पनि खोज्न नै नसकिने हुँदैन ।”

अपराध अनुसन्धानका विज्ञहरूका अनुसार घाउजाँचका आधारमा हतियारको प्रकृति, हतियार प्रहार भएको समय, एउटै हतियार र गोली प्रयोग भएनरनभएको, एउटै समयमा प्रहार भएको छ कि फरक–फरक समयमा भएको छ भन्ने खालका सूचनाहरू मेडिकल रिपोर्टले दिन सक्छ । खास गरी राजा वीरेन्द्रलाई सुरुमा गोली हानेर ढालियो, त्यसपछि युवराज दीपेन्द्र कोठाबाट बाहिर निस्किए र फर्केर फेरि गोली हान्न थालेको विवरण उपाध्याय समितिको प्रतिवेदनमा उल्लेख छ । पूर्वयुवराज पारस शाहलगायत केही प्रत्यक्षदर्शीका बयानका आधारमा उक्त आयोगले यो निकर्ष निकालेको थियो । त्यसै गरी घटनास्थलमा हतियारको संख्या, गोली र म्यागजिन विभिन्न थरीका पाइएका छन् । पारसले दीपेन्द्रसँग चारवटा हतियार रहेको देखेको बताएका छन् । ती सबै हतियार गोली हान्न प्रयोग भए कि भएनन्, कुन खालको गोली प्रयोग भयो, कस्तो घाउ बनाएको छ भन्ने आधारमा निक्र्योल गर्न सकिन्छ, जसमा मेडिकल रिपोर्ट एउटा आधार हुन सक्छ । घटनास्थलमा फेला परेका हतियार, गोली, म्यागजिन र गोलीका खोकाहरू संकलन गरी समितिले केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालामा परीक्षण गराएको छ । मेडिकल रिपोर्टका आधारमा घटनामा प्रयोग भएका गोली र हतियार यकिन गरी विज्ञान प्रयोगशालाको प्रतिवेदनसँग भिडाएर पनि पुनस् अध्ययन गर्न सकिन्छ ।