Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

चीनमा नेपाली कला प्रदर्शनी

बुधबार, कार्तिक १०, २०७३

3748643831_82ee7c82c5_o1अठार नेपाली कलाकार र एक चिनियाँ कलाकारका कलाकृतिको प्रदर्शनी बेइजिङको ७९८ आर्ट भिलेजमा अवस्थित ‘जु लिन इस आर्ट सेन्टर’मा सुरु भएको छ । नेपालमा दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धनको काम गर्दै आइरहेको थाङ्का हाउस र सेन्टरको संयुक्त आयोजनामा सो प्रदर्शनीको आयोजना गरिएको थाङ्का हाउस ठमेलका सञ्चालक वीरेन्द्र शाहीले बताए । यही कात्तिक २ देखि १४ गतेसम्म रहने सो प्रदर्शनीमा नेपालबाट समुद्रमानसिंह श्रेष्ठ, मुकेश श्रेष्ठ र राजप्रकाश तुलाधर सहभागी छन् । प्रदर्शनीमा नेपाली कलाकार पूर्ण ह्योजु, उजय वज्राचार्य, रितेश शाही, मदन किजु, हरिप्रसाद वैद्य, शुक्रराज तामाङ, रवीन्द्र मुनिकर्मी, देवेन्द्र सिङ्खवाल, शिवप्रसाद किजु, मीनु शाक्य लगायतका र चीनका हान ली रोङका कलाकृति पनि राखिएको छ । नेपाल र चीनको मित्रतलालाई प्रगाढ बनाउने उद्देश्य राखेर प्रदर्शनीको आयोजना गरिएको शाहीले बताए । चिनियाँ कला प्रवद्र्धक गो जिङ चाओले नेवारी कला प्रवद्र्धन गर्नका लागि चीनमा १० वर्षदेखि आफूसँग मिलेर काम गरेको शाहीले बताए । चाओले विशेषगरी नेवारी कलालाई चीनमा चिनाउन ठूलो भूमिका निर्वाह गरेका छन् । उनले भने,“हामीले नेपाली कलाको प्रवद्र्धन मात्रै होइन, सांस्कृतिक रुपमा एक अर्काका देशका कलालाई परिचित गराउने र कलाकारलाई अवसर प्रदान गर्दै आइरहेका छौँ, यसले अन्तर्राष्ट्रिय रुपमा नेपाली कलाको विकास र प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुर्याउन सक्छ भन्ने मेरो विश्वास हो ।”

नेवारी कला भनेपछि हुरुक्कै हुने चाओले थुप्रै नेपाली कलाकारका कला सङ्ग्रह गरेको प्रदर्शनीमा सहभागी कलाकार तुलाधरले बताए । उनले भने,“दुई वर्षअघि पनि चाओले नेपाली कलाकारका कला प्रदर्शनी गर्नुभएको थियो, अहिले पनि उहाँले शाहीसँग मिलेर अझ भव्य रुपमा चीनमा कला प्रदर्शनीको आयोजना गर्नुभएको छ ।” चीनबाट अनलाइनमार्फत कुरा गर्दै चाओले भने,“चीन र नेपालको पुरानो सम्बन्धलाई ताजा र चिरस्थायी बनाउनका लागि सांस्कृतिक सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । यसै भएर नै हामीले नेवारी कलालाई चीनमा चिनाउने काम गरेका छौँ । आगामी दिनमा हामी अझ सशक्त रुपमा सम्बन्ध विस्तार संस्कृति आदानप्रदानको काम गर्नेछौँ ।” प्रदर्शनीमा सहभागी अर्का कलाकार मुकेशले प्रदर्शनीमा सहभागी हुन पाएकामा आफू उत्साहित रहेको बताए । उनले भने,“नेपाली कलाको विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि यो कला प्रदर्शनी कोसेढुङ्गा साबित हुनेछ ।” नेपाली पौभा कलाका परिचित कलाकार समुद्रमानसिंहले चीनको भ्रमण र त्यहाँको कलाको माहोलले आफूमा नयाँ उत्साह थपिएको बताए । उनले प्रदर्शनीमा राखिएका कलाकृतिमा विविधता रहेको र त्यसले नेपाली कलालाई बाहिरी संसारसँग परिचित गराउने अवसर रहेको स्पष्ट गरे । प्रदर्शनीमा तुलाधरले बनाएको हरितताराको चित्रलाई मोनालिसासँग तुलना गरेकामा गर्वको अनुभूति भएको सुनाए । सोही प्रदर्शनीका अवसरमा नेवार कलाका बारेमा जानकारी गराइएको शाहीले बताए । प्रदर्शनीमा नेपालबाट पाँच जनाको टोली आठ दिनको भ्रमण सकेर सोमबार नेपाल फर्किएको ललितकला पत्रकार देवेन्द्र थुम्केलीले जानकारी दिए ।