Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

‘पहिले बाध्यताले गिठा भ्याकुर खाइन्थ्यो, अहिले रहरले’

आइतबार, कार्तिक ०७, २०७३

15_chepang-children-vidsc3071शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पर्थ्यो । विद्यालय छाडेर जङ्गल जानुपर्ने बाध्यता थियो उनीहरुलाई । फाँडेको खोरियामा हुने मकै, कोदो र फापरले छ महिना पनि खान पुग्दैनथ्यो । अहिले ३-४ वर्षदेखि उनी बाध्यतावस जङ्गलमा गिठा टिप्न गएका छैनन् । पढ्न नियमित विद्यालय जान्छन् । तेक्वान्दो खेल्छन् । छात्रावासमा बसेर अध्ययन गर्दैछन् । मलिन स्वरमा गणेशले भने,“अहिले त गिथा तिप्न गा’थैन ।” लोथर गाविसको विकट गाउँ कान्दामा कुमार बलराम स्मृति छात्रावासमा बसेर अध्ययन गर्न थालेका कोराक–४ दिवाङडाँडाका आकाश तामाङको पनि दैनिकी उस्तै छ । छ महिने अनिकालमा गिठा नखोजे उनको घरमा पनि आगो बल्दैन थियो । त्यसबेला खानेकुरा नभएर भोकै बसेको अनुभव उनीसँग छ । आकाशले विगत सम्झिदै भने,“गिठा नखोज्दा एकदिन भोकै भाथ्यो ।”

भात, तरकारी जे भने पनि गिठा थियो । त्यही गिठा उसिनेर बाँडेर खान्थे । नभए गाउँबाट मागेर या ऋण काढेर अन्नको जोहो गर्नुपथ्र्यो । “गाउँमा होस्टेल नहुँदा गिठा खोज्न जान्थ्यो, अहिले छैन”, आकाशले भने । चितवनकै विकटमा रहेको कान्दा गाउँको कथा बेग्लै छ । विषालु च्याउ खाएर एकै परिवारका ८ जनाको मृत्युपछि विगत र अहिले फेरिएको छ । गाउँमा अझै वर्षमा छ महिना अनिकाल व्यहोर्ने चेपाङ छन् । तर उनीहरुमा गिठा भ्याकुर खोजेर खानुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । स्थानीयवासी विभिन्न कृषिकर्ममा सक्रिय हुन थालेका छन् । कुनैबेला खान पुगेन भन्नेबित्तिकै यहाँ क्रियाशील लक्ष्मी प्रतिष्ठानले अन्न पठाइदिन्छ । प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम भन्छन्,“कान्दा हाँस्नु पर्छ, कान्दा हाँस्दा देश हाँस्छ । विकट हाँस्दा जुन सौन्दर्य जन्मिन्छ, त्यसले अन्तर्राष्ट्रिय रुपमा पर्यटनको माध्यमबाट पहिचान पाउँछ ।” अहिले कान्दा ‘यु टर्न भएको’ र पर्यटक भित्र्याउने अभियानमा लागेको गौतम बताउछन् ।

chepangयसपालिको दसैँमा पनि चामल, दाल, तेललगायत सामग्री प्रतिष्ठानबाट उपलब्ध भएको बताउने कान्दा गाउँका स्थानीयवासी ५० वर्षीय झ्याउँको लाल चेपाङ भन्छन्,“खान त खोरियाले अझै पुग्दैन, तै नि ज्याला गर्न पा’छ, अन्न पा’छ ।” उनका अनुसार पनि गिठा टिप्न बाध्यताले जानुपर्ने अवस्था छैन । गाउँमा तरकारी खेती सुरु गरिएको छ । छात्रावास निर्माण, बाटो निर्माण तथा अन्य विभिन्न काममा गाउँले नै खटिनुपर्छ । छात्रावासमा चाहिने सामान बोकेर ल्याउने काम पनि स्थानीयवासी कै हो । त्यसैले गाउँमै ज्याला मजदुरीसमेत पाइने भएपछि पहिले जस्तो हातमा पैसा नपर्ने महिना छैन र जङ्गलमा कन्दमूल खोज्न जानै पर्ने बाध्यता छैन । तैपनि पुरानो लागेको बानी भएकाले गाउँका चेपाङ जङ्गली गिठा भ्याकुर, तरुल खोजेर खाने चलन भने हराएको छैन । रहरले भए पनि कन्दमूल खोजेर खाने बानी छ । कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया भन्छन्,“पहिले बाध्यताले गिठा भ्याकुर खाइन्थ्यो भने अहिले रहरले खाइन्छ ।”

थपलिया त्यो गाउँ बसेको १५ वर्ष भयो । उनका अनुसार कति दिनसम्म पनि मुखमा अन्न पर्दैनथ्यो स्थानीयवासीको । खान हुने जडीबुटीका मुन्टा खान्थे । जङ्गली गिठा भ्याकुर र च्याउले जीवन धानिन्थ्यो । आङ ढाक्ने एकसरो कपडा हुँदैन्थ्यो । मान्छे देख्दा डराउँथे । ओछ्याउने कुरा नभएर अँगेनुमा आगो बालेर छेउमा बसेर रात काट्थे । भात खान दशैँ नै कुर्नुपर्थ्यो । विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा हुन्थे । कान्दा रुपान्तरणमा लागेका सुरुका अभियन्ता मितेरी फाउन्डेसनका एकल सिलवाल रु ५० ले दशैँ मानेको तितो अनुभव सुनाउँछन् । तर अहिले विस्तारै परिवर्तन हुँदैछ । अधिकांशका नयाँ घर बने । उनीहरुले नयाँ संसार देख्न थालेका छन् । संसार बुझ्न थालेका छन् । एक अर्कामा सहयोगी भावना जाग्न थालेको छ । आत्मनिर्भर हुन थालेका छन् । ५ वर्षको छोटो समयमै गरे के हुन्न र भन्ने उदाहरण पेस भएको छ कान्दा गाउँको परिवर्तनले । स्थानीय अगुवा चेपाङ सीताबहादुर गाउँमा नसोचेको परिवर्तन आउँदैगरेकामा खुसी छन् ।

चितवनको अति विकटमा पर्छ चेपाङ बस्ने कान्दा गाउँ । यहाँ जान सदरमुकाम भरतपुरबाट पूर्वी क्षेत्र हात्तीढापसम्म ४ घन्टाको सवारी यात्रा हुन्छ । त्यहाँबाट उकालो ६ घन्टा हिँडेपछि पहाडको टुप्पोसँगै जोडिएको खोपीमा पर्छ ‘कान्दा’ । विसं २०६७ जेठ १४ गते जङ्गली कन्दमूल खोज्ने क्रममा स्थानीयवासी बाबुराम चेपाङको घरमा च्याउ आइपुग्यो । समय एकै भएन । सधैँ खाँदा केही नहुने च्याउ त्यसदिन फरक परेछ । विषालु भनेर चिनेनन् । उनीहरुले पकाएर भोको पेट भरे जसका कारण उनका परिवारका ८ जनाकै मृत्यु भयो । बाबुरामसहित श्रीमती मतिमायाँ, छोराहरु पूर्णबहादुर र जितबहादुर, छोरी सानीमायाँ र डल्लीमायाँ, बुहारी सुमित्रा र सम्झना चेपाङको ज्यान गएको थियो । च्याउ खान नसक्ने भएकाले शम्शेरबहादुरलाई टुहुरो बनाएर सबै गए । सोही घटनाका कारण चितवनको अति विकट लोथर गाविसको कान्दा गाउँको मुहार परिवर्तन सम्भव भएको हो । भोकै र नाङ्गै बस्ने चेपाङ बालबालिका अहिले छात्रावासमा बस्छन् । विद्यालय जान थालेका छन् । सीप र प्रतिभा देखाउन थालेका छन् । बाहिरका जो कोही गए पनि ‘आहा ! कान्दा’ भन्ने गरेका छन् ।

गाउँमा १०२ घरका १२३ जना बालबालिका छात्रावासमा बसेर विद्यालय पढ्न थालेका छन् । लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरणका लागि काम गरिरहेको छ । गाउँ रुपान्तरणका अभियन्ता विष्णु भन्छन्,“अब जङ्गलका गिठा, भ्याकुर र च्याउलाई भोको पेट भर्ने होइन त्यो देखाएर पर्यटन भित्र्याउनुपर्छ ।” गाउँका अगुवा चन्द्रबहादुर गुरुङ गाउँ फेरिएको देखेर दङ्ग छन् । यहाँको विकासका लागि विदेशमा रहेका नेपालीको अथाह सहयोग छ । चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल कान्दाको नमुना कार्य अन्यत्र पनि प्रयोग गर्नुपर्ने खाँचो औँल्याउँछन् ।