Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

चन्द्रमाको उत्पत्ति कसरी भयो?

पृथ्वीबाट एक भाग उछिट्टिएर चन्द्रमा बनेको भन्नेमा वैज्ञानिकहरूबीच विवाद छैन। तर, कसरी र कुन प्रक्रियाबाट चन्द्रमा बन्यो भन्ने निक्र्यौल अझै हुनसकेको छैन।   केही वैज्ञानिकको नयाँ दाबीअनुसार लामो कालखण्डमा पृथ्वी र बाह्य पिण्डको बारम्बार टकरावबाट २० वटा साना चन्द्रमा बनेका थिए। तिनै साना चन्द्रमा एकै ठाउँ मिसिएर अहिले हामीले आकाशमा देख्ने चन्द्रमा बनेको उनीहरूको दाबी छ।   इजरायली वैज्ञानिकहरुको उक्त अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल ‘नेचर जियोसाइन्स’ मा छापिएको छ।   चन्द्रमाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा अहिलेसम्म धेरैले विश्वास गरेको सिद्धान्त भनेको ‘जाएन्ट इम्प्याक्ट थिअरी’ हो। उक्त सिद्धान्तअनुसार ‘थेइया’ नाम गरेको एक पिण्ड ४.३१ अर्ब वर्षअघि पृथ्वीसँग ठोक्कियो। मंगल ग्रहको आकार भएको उक्त पिण्डको टकरावले पृथ्वीबाट धुलोको मुस्लो र टुक्राटुक्री ब्रह्माण्डमा गयो, जुन पछि एकाकार हुँदै हामीले देख्ने चन्द्रमा बन्यो।   उक्त सिद्धान्तमा केही समस्या थिए। अन्तरिक्षयात्रीले चन्द्रमाबाट ल्याएका चट्टान पृथ्वीका चट्टान जस्तै थिए। ती चट्टानमा पृथ्वीसँग जुधेको भनिएको ‘थेइया’ नाम गरेको पिण्डको निसानसम्म पाइएन। किन त्यस्तो भयो भन्नेबारे रहस्य सुल्झेको छैन।   इजरायलका वैज्ञानिकले त्यसको पनि समाधान प्रस्तुत गरेका छन्। उनीहरूको दाबीअनुसार चन्द्रमाको निर्माण कुनै एक पिण्डले पृथ्वीलाई एकपटक दिएको ठक्करबाट मात्र भएको होइन। लामो समयको अन्तरालमा धेरै पिण्डले ठक्कर दिए। यही क्रममा ठुला ठक्करपछि पृथ्वीको धुलो, धुँवा र टुक्राटुक्री ब्रह्माण्डमा गयो र साना-साना चन्द्रमा बन्यो। ती चन्द्रमा आपसमा मिसिए र अहिलेको चन्द्रमा बन्यो।   यसको अर्थ हो– हामीले आकाशमा देख्ने चन्द्रमा पृथ्वीलाई परिक्रमा गर्ने पहिलो चन्द्रमा होइन, बरु अहिलेसम्मको अन्तिम भने हो।

‘हाम्रो मोडेलअनुसार पुरानो पृथ्वीसँग धेरैवटा चन्द्रमा थिए, प्रत्येक ठुला ठक्करबाट एक चन्द्रमा निर्माण भयो,’ उक्त खोजमा संलग्न वैज्ञानिक हागाई पेरेट्स भन्छन, ‘सम्भवतः त्यस्ता चन्द्रमा पृथ्वीबाट उछिट्टिएर बने वा एकअर्कासँग टकराए र ठूलो चन्द्रमा बने।’   पेरेट्स इजरायलको इन्स्टिच्युड अफ टेक्नोलोजीका वैज्ञानिक हुन्। त्यस्ता साना चन्द्रमा कसरी बने भन्ने बुझ्न उनीहरूले ८०० वटा ‘साइमुलेसन’ अर्थात् उक्त ठक्करको कम्प्युटरमा अनुकरण गरेर अध्ययन गरेका थिए।   उनीहरूका अनुसार त्यस समय पृथ्वीलाई ब्रह्माण्डमा रहेका विभिन्न किसिमका ठूला चट्टानले ठक्कर दिए। त्यसले पृथ्वीको धुलो, टुक्राटुक्री र बाफ पुरानो पृथ्वीको वरिपरी फाल्यो।   साइमुलेसनका अनुसार पृथ्वीबाट उछिट्टिएका टुक्राटुक्री विस्तारै सेलाए र साना–साना चन्द्रमामा परिणत भए। त्यसपछि अन्त्यमा एक ठूलो चन्द्रमाको निर्माण भयो।   एक ठूलो ठक्करभन्दा सानो र तीव्र गतिमा भएको धेरैवटा ठक्करले अहिलेको पृथ्वी र चन्द्रमाको सम्बन्ध विकास हुने उनीहरूको दाबी छ।   त्यसैकारण चन्द्रमाको चट्टान पृथ्वीको जस्तो भएको र त्यसमा ‘जाएन्ट इम्प्याक्ट थिअरी’ अनुसार ठोक्किने पिण्डको चन्द्रमाको निसान नरहेको उनीहरूको दाबी छ।