Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

बंगलादेशमा डाक्टर पढ्ने चेलीबारे मन्त्रीले किन बोले यस्तो ?

मन्त्री तामाङ र व्यवसायी प्रसाईँ आलोचित

काठमाडौं : प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा सुधारका माग राखेर सुरु गरेको अनशन तेस्रो सातामा चलिरहँदा बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली विद्यार्थीबारे एउटा विवादित विषय चर्चामा आएको छ।

अधिकांशले सामाजिक सञ्जालमा ‘आपत्तिजनक’ भनेको यो विषयमा मन्त्रीले पनि मुख खोलेपछि उनीसमेत विवादमा तानिएका छन्। एउटा दलले त उनको राजीनामा समेत मागेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले गत शुक्रबार भएको एक कार्यक्रममा ‘नेपाली चेलीले सर्टिफिकेट लिन आफूलाई बेच्नुपरेको’ बताएको भिडियो अहिले फेसबुक/ट्विटरमा भाइरल बनेको छ।

यसअघि गत साता झापाको बिर्तामोडस्थिति बिएन्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईँले पत्रकार सम्मेलनमा ‘नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेको’ दाबी गरेका थिए।

के भनेका थिए प्रसाईँले?

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घरमा बोलाएर खाना खुवाएको फोटोकै कारण आलोचनाको तारो बनेका प्रसाईँले गत साता बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा प्राध्यापक डा. गोविन्द केसीले गरिरहेको अनशनको कडा आलोचना गरेका प्रसाईँले बंगलादेशमा मेडिसिन पढ्न गएका नेपाली छात्राबारे अभिव्यक्ति दिँदै ‘त्यसलाई लेख्न जरुरी रहेको’ बताएका थिए।

उनले भनेका थिए-

आज म एउटा कुरा भन्दिन्छु, त्यो पनि लेख्न जरुरी छ। बंगलादेश पढ्न गएका अरु केटाहरू पाँच वर्षमा  एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्?  त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन् ती केटीहरूलाई। लास्ट लास्ट टाइममा आउँछन् पास भएर। त्यो कुरा किन आउँदैन ? त्यो कुरा हामीले भोगेका छौँ नि, हामीले बुझेका छौँ नि।

मन्त्रीको अभिव्यक्ति

प्रसाईँको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला गत शुक्रबार कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पनि ‘आज म कथा खोल्छु’ भन्दै यही विषयमा बोलेका छन्। प्रा. डा. केसीको अनशनप्रति कडा टिप्पणी गरेका मन्त्री तामाङले नेपालबाट डाक्टर पढ्न गएका चेलीले ‘आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति नभएको’ बताएका थिए।

शुक्रबार राजधानीको चाबहिलमा प्राक्सिस इन्टरनेसनल एकेडेमीले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिने कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री तामाङले फागुन अन्तिम साता भएको युएस बंगला एअर दुर्घटनाको प्रसंग उठाउँछन्। उनी भन्छन्-

बंगला एअरदुर्घटना हुँदा २१ जना डाक्टरहरू जो बंगलादेशमा पढेर आए ती यहीँ हाम्रो एअरपोर्टमा आएर बिते। बास्तवमा, यो मार्मिक कति मार्मिक छ कुरा ल हेर्नुस् त। 

युएस बंगला एअर दुर्घटनाको प्रसंग उठाएर त्यसलाई ‘मार्मिक’ भनेका उनी अचानक बंगलादेशमा डाक्टर पढ्न गएका चेलीबारे बोल्न थाल्छन्। उनी भन्छन्-

आज म कथा खोल्छु बंगलादेशमा कोही चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि मैले सुन्याछु- उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। मैले सुन्याछु यति मार्मिक छ कथा। तिनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू। हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ। तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन। 

मन्त्रीको राजीनामा माग

सोसल मिडियामा व्यवसायी प्रसाईँ र मन्त्री तामाङको आलोचना त भएकै छ, राप्रपाले मन्त्रीको राजीनामा मागेको छ। राप्रपाका प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ‘मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न’ प्रधानमन्त्री केपी ओली समक्ष माग गरिएको छ।

राप्रपाले मन्त्रीको अभिव्यक्तिको निन्दा एवं भत्सर्ना गर्दै ‘बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरी’ कानुन मन्त्री शेरबहादुर तामाङले ‘अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति’ दिएको उल्लेख छ।

‘मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली समक्ष राप्रपा माग गर्दछ’, राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघि नेपाली चेलीहरू बंगलादेश स्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न’ माग गरिएको छ।

विरोध र सोसल मिडिया प्रतिक्रिया

बंगलादेशमा पढ्ने विद्यार्थीहरूबारे व्यवसायी प्रसाईँले व्यक्त गरेको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीको संस्थाले विज्ञप्ति निकालेको छ। ‘वर्ल्डवाइड नेप्लिज स्टुडेन्ट्स अर्गनाइजेसन बंगलादेश’ ले निकालेको विज्ञप्तिमा प्रसाईँको अभिव्यक्तिले विद्यार्थीहरूका बारेमा झूठो कुरामात्र नगरेर चरित्रमाथि प्रश्न उठाउन खोजेको बताएका छन्।

उनीहरूले प्रसाईँलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले चर्चामा रहेजस्तो विद्यार्थीहरू असुरक्षित रहेको जानकारी आफूहरूलाई नभएको उल्लेख गरेका छन्। उनीहरूले विज्ञप्ति निकाल्दा मन्त्री तामाङको अभिव्यक्ति आइसकेको थिएन। यता मन्त्री तामाङ र व्यवसायी प्रसाईँको अभिव्यक्तिको सोसल मिडियामा पनि चर्को आलोचना भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुनमन्त्रीले दिएको अभिव्यक्ति अत्यन्त दुःखद भएको टिप्पणी गरेका छन्। उनले यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘व्यवसायी दुर्गा प्रसाईंले बांगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ।यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु’, श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुःखद छ। सरकारको गम्भीर ध्यान जाओस ।’

राष्ट्रिय मानअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै ‘बास्तविकता’ माग गरेकी छन्। उनले ट्विटरमा प्रधानमन्त्रीलाई सोधेकी छन्-

सम्माननीय प्रधानमन्त्री ज्यू, क्याबिनेट मन्त्रीले यस किसिमका कुरा बोल्नु ठिक हो ? प्रमाण छ र किन के कारणले बंगलादेश पढ्न गएका डाक्टरलाई यति बेइज्ज गरिँदैछ । के वास्तब्कता छ ? होइन भने त्यस्ता कन्सल्टटेन्सीको दोष हो वा सरकारको स्पष्ट होस्।

परशु घिमिरेले ट्विटरमा लेखेका छन्-

नेपाली समाजमा संवेदनशीलताको कमी भएको छ। नेपाली जो सुकैलार्इ अपमान गर्नु समूच्चा नेपाल र नेपालीकै अपमान हो। तुच्छ एक सचेत मानवले प्रयोग गर्न नसुहाउने शब्दको प्रयोग त्यो पनि सरकारी पक्षबाट हुनु दुर्भाग्य हो। महिला चिकित्सकलार्इ अपमान नगरियोस्। शत्य तथ्य छानबिन होस्।

डा. गोविन्द राज पोखरेलले लेखेका छन्-

माननीय मन्त्रीज्यू महिलाहरूको विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययनरत छात्राहरुको भविष्यप्रति ख्यालै नगरीकन कुनै तथ्य विना सरकारी प्रतिनिधित्व गर्ने व्यक्तिले यस्ता संवेदनशील कुरा नगरौँ।

के भन्छन् कानुन मन्त्री ?

कानुनमन्त्री तामाङले आफूले हचुवामा नबोलेको दाबी गरे। ‘मैले त्यतिकै बोलेको होइन, तथ्य पाएरै बोलेको हुँ’, तामाङले भने, ‘यसबारेमा नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदन छ जुन सार्वजनिक भएको छैन।’ ‘हामीलाई आएको सूचनाअनुसार एकजना विद्यार्थीले यौन हिंसामा परेर आत्महत्या गरेकी छन्’, उनले भने।

आफ्नो अभिव्यक्तिलाई लिएर सोसल मिडियामा चर्चा भएकोले त्यसबारे स्पष्ट पार्न आफूले प्रेस विज्ञप्ति निकाल्न लागेको समेत उनले बताए। मन्त्री तामाङले मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा बोलेको संकेत गरे पनि मेडिकल काउन्सिलमा भने त्यसखालको कुनै प्रतिवेदन नरहेको खुलेको छ।

काउन्सिल भन्छ- ‘प्रतिवेदन छैन’

नेपाल मेडिकल काउन्सिलले भने बंगलादेशमा पढ्ने विद्यार्थीबारे कुनै प्रतिवेदन काउन्सिलसँग नभएको प्रष्ट पारेको छ। काउन्सिलका सदस्य डा. कालु सिंह खत्रीलाई अन्नपूर्णले सोध्यो- ‘बंगलादेशमा पढ्न गएका विद्यार्थीहरूबारे काउन्सिलसँग कुनै प्रतिवेदन छ ?’

खत्रीले जवाफ दिए- ‘हामीसँग त्यसखालको कुनै पनि प्रतिवेदन छैन।’

हामीले फेरि सोध्यौँ- ‘काउन्सिलसँग सार्वजनिक नगरिएको त्यस्तो कुनै प्रतिवेदन नै छैन ?’

काउन्सिल सदस्य खत्रीले जवाफ दिए- ‘छैन छैन।’

‘के हामी तपाईँको यो भनाइलाई काउन्सिलको आधिकारिक धारणा मान्न सक्छौँ ?’ हामीले फेरि सोध्यौँ।

उनले भने- ‘ढुक्कसँग लेख्नुस्- हामीसँग त्यस्तो कुनै प्रतिवेदन छैन।’

काउन्सिलका अर्का सदस्य एवं नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष  डा. ढुन्डीराज पौडेलले गत वर्ष एक नेपाली विद्यार्थीले बंगलादेशमा आत्महत्या गरेको तर उनको आत्महत्याको कारण नुखलेको बताए। ‘त्यो बेला हामीले आर्थिक दवाब वा अन्य खालको कुनै दवाब कारण हो कि भन्ने अनुमानसम्म गरेका हौँ तर त्यसखालको कुनै प्रतिवेदन हामीसँग छैन।’

डा. पौडेलले पीडितहरूले नभनीकन वा छानबिन नभई जिम्मेवार व्यक्तिहरूले ‘सबै विद्यार्थीमाथि बलात्कार हुन्छ जस्तो गरी अभिव्यक्ति दिनु’ लज्जाको विषय भएको प्रतिक्रिया दिए।