Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

पक्की घर पाएर भूकम्पपीडित फुरुंग

 रामबहादुर कटुवाल ७८ वर्षका भए, उनकी पत्नी जनमाया ६६। भूकम्पले घर भत्किएर बिचल्लीमा परेका कटुवाल दम्पत्ति नयाँ घरमा गृहप्रवेश गरेका छन्। गत असार २७ गते भव्य रूपमा घरपैंचो गरेर उनीहरू नयाँ घरमा पसेका हुन्।

नयाँ पक्की घरमा बस्न पाएकोमा कटुवाल दम्पत्ति दंग छन्। ‘घरपैंचो गरेर असार २७ गते नयाँ घर पसेका हौं,’ रामबहादुरले भने। नयाँ घर बन्नुअघि कटुवाल दम्पत्ति भूकम्पले क्षति भएकै घर सामान्य मर्मत गरेर बस्दै आएका थिए।

‘केही समय त आफन्तको घरमा बस्यौं। पछि त्यही भत्किएको घर टालटुल गरेर बसेका थियौं,’ रामबहादुरले सुनाए। उनीहरूको घर २०७२ साल वैशाख १२ गते क्षतिग्रस्त भएको थियो। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दिने ३ लाख अनुदानको सहयोगमा कटुवाल दम्पत्तिले नयाँ पक्की घर बनाएका हुन्।

ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-२ निशंखेका कटुवाल दम्पत्तिको पहिले खरले छाएको चुहिने घर थियो। कटुवाल दम्पत्तिले आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनन्। जीवनको उत्तराद्र्धमा पक्की घरमा आरामदायी जीवन बिताउन पाएको भन्दै उनीहरूले नयाँ जीवनको महसुस गरेका छन्।

‘हाम्रा लागि यो सौभाग्य भयो, यस्तो घर बनाएर बस्न सकुँला भन्ने कल्पना नै गरेको थिइनँ,’ जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका निवृत्त कार्यालय सहयोगी समेत रहेका कटुवालले खुसी व्यक्त गर्दै भने, ‘मेरो औकातले यत्रो पक्की घर कहाँ बनाउन सक्थ्यो र ? सरकारले दिएको तीन लाखमा ऋणपान थपेर बनाएँ, अलिअलि ऋण त लागेको छ तर बुढेसकालमा आरामले बस्न पाइने भइयो, यसैमा खुसी छु।’ दुई कोठे पक्की घर बनाउन जम्मा ६ लाख खर्च भएको उनले बताए।

कटुवाल दम्पत्तिको पुरानो घर खरले छाएको कच्ची थियो। घर चुहिएर विजोग हुन्थ्यो। पुरानो घरमा झरी पर्दा भाडा थाप्नुपर्ने अवस्था थियो। ‘घर पुरानो भत्किन लागेको थियो, पानी पर्दा भाडा थाप्नु पर्ने अनि रातभरि सुत्न नपाइने हुन्थ्यो। कहिलेकाहीं भात पकाउँदा-पकाउँदै पानी चुहिएर आगो निभ्थ्यो, भात पनि खान पाइँदैनथ्यो,’ कटुवाल पत्नी जनमायाले प्रशन्न मुद्रामा भनिन्, ‘हाम्रो पनि पक्की घर होला भन्ने सोचेकै थिइनँ।’

भूकम्प जानुपूर्व कटुवाल दम्पत्ति जिजुबाजेले बनाएको पुरानो र जीर्ण घरमा बस्दै आएका थिए। गाउँमा थोरै जग्गाजमिन भएका कटुवाल दम्पत्तिलाई छोराछोरी हुर्काउन, बढाउन, पढाउन नै मुस्किल थियो। दमका रोगी समेत रहेका रामबहादुरका लागि नयाँ घर बनाउनु सपनाको कुरा जस्तै लाग्थ्यो।

चार सन्तानका बाबुआमा कटुवाल दम्पत्तिका दुई छोरा र छोरी छन्। उनीहरूले छोराछोरीको विवाहदान र अंशबण्डा गरिदिइसकेका छन्। छोराहरू समेत छुट्टिएर भिन्नै बस्छन्। कुटवाल दम्पत्ति सरकारले दिने अनुदानको तीनै किस्ता पाउने थौरे मध्येका भाग्यमानी बनेका छन्। उनीहरूले सरकारले दिने तीनै किस्ताबापतको जम्मा तीन लाख रूपैयाँ पाइसकेका छन्।

निशंखेका ४४ वर्षीय श्यामकुमार कटुवाल पनि धमाधम घर बनाइरहेका छन्। भदौभित्र सक्ने लक्ष्यका साथ श्यामकुमारले घर बनाइरहेका हुन्। उनी भूकम्प प्रतिरोधी पक्की घर बनाउन पाएकोमा मख्ख छन्।

श्यामकुमारलाई भूकम्पले दुईतले पक्की घर बनाउने साइत जुराइदिएको छ। ‘भूकम्पले भत्काउनु पहिला हाम्रो घर ढुंगा माटोले बनेको, खरले छाएको थियो, अहिले सिमेन्ट लाएको टिनले छाएको भूकम्प प्रतिरोधी घर बनाउन पाउदाँ हामी सुखी छौं, भूकम्प आएर घर क्षति हुँदा दुःख लागे पनि अहिले नयाँ घर बनाउन पाउँदा ठिकै लागेको छ,’ उनी भन्छन्, ‘भूकम्प नआएको भए नयाँ पक्की घर बनाइन्नथ्यो होला।’

श्यामकुमारको घरमा अब छानो लगाउन मात्र बाँकी छ। अहिलेसम्म ९ लाख रूपैयाँ खर्च भइसकेको उनले सुनाए। घर बनाउन १२ लाख खर्च हुने अनुमान श्यामकुमारको छ। उनकी पत्नी शिक्षक भएकाले घर बनाउन पत्नीको तलबले भरथेग भएको छ।

‘जीवनमा एक पटक घर बनाइन्छ, त्यही भएर राम्रै बनाएको हुँ। १२ लाख जति खर्च हुन्छ होला, अहिलेसम्म ९ लाख सक्किइसक्यो’, उनी भन्छन्, ‘ श्रीमती शिक्षक भएकाले केही भरथेग भएको छ, तर त्यसले मात्र कहाँ पुग्छ ? ऋण खोजेर नै नयाँ घर बनाइयो,’ श्यामकुमारले प्राविधिक सल्लाहबमोजिम ४ कोठे दुई तले घर बनाएका हुन्।

सिद्धिचरण नगरपालिका-२ निसंखेमा भूकम्पले १०४ वटा घरमा क्षति पुर्‍याएको थियो। वडा सचिव माधवप्रसाद भट्टराईका अनुसार १०४ लाभग्राही मध्ये ९७ ले घर बनाउने सम्झौता गरेका थिए, जसमध्ये ७० जनाले घर बनाइसकेका छन्। सम्झौता भएका तीनबाहेक अरु सबै घरको पुनर्निर्माण भइरहेको प्राविधिक इन्जिनियर संजीवकुमार यादवले जानकारी दिए। इन्जिनियर यादवका अनुसार एक जना काठमाडौं रहेका, एक एकल महिला र एक जनाले आफूखुसी घर बनाएका छन्।

आठ सय २० घरधुरी रहेको निशंखे गाउँमा कटुवाल, कार्की, खड्का, दमाई र सार्की समुदायको बसोबास छ। भूकम्पले सबै समुदायका घर भत्काइदिएको थियो।