Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

उत्कृष्ट विद्यार्थीहरुलाई एनसेलको छात्रवृत्ति र सम्मान

काठमाडौँ: एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एनसेलले छात्रवृत्ति र उत्कृष्ट सम्मान प्रदान गरेको हो ।

एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढी अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण विद्यार्थीहरुलाई एनसेल उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ ।

बिहीबार एक समारोहबीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधिहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति र सम्मान प्रदान गरे ।

१२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।

जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सधैँ नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

एनसेलले पाँच बर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरुको लगन तथा मिहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्दै आएको छ ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष (२०७१-२०७५) का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो ।

पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको छ ।

यो वर्षको छात्रवृत्ति ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्वितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्वित्तीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याएका ३ जना छात्राले पाएका छन् ।

उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १-१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रासहित ४ जनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै विभिन्न व्यावसायिक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस अन्तर्गत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पुर्याउन कम्पनीले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ, जसबाट २५,००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।