Thursday 21st March 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

अामा बाबुले रूदैभने खाडी मुलुमा छोरालाइ मृत्यु दण्डदिदैछ ‘कोही छौ भने छोरो फर्काइदेऊ’

औरही (महोत्तरी) : ‘भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ । उसलाई फाँसी दिइँदै छ भन्ने सुनेका छौं । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’

महोत्तरीको औरही नगरपालिका—१ की गीतादेवी चौधरी र श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो । बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् त कतिखेर भगवान् पुकारिरहेका हुन्छन् ।

चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार गएका अनिल चौधरीलाई त्यहाँको अदालतले गोली हानेर मृत्युदण्ड सुनाएपछि उनको परिवार अहिले चिन्तामा डुबेको छ ।

२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो । तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो । उनी जेल परेको १५ महिना भइसक्यो ।

अनिललाई मृत्युदण्ड सुनाइनुअघि सामान्य झगडा हुँदा जेल परेको परिवारको अनुमान थियो । जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे । आफूले केही नगरेको र जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए । त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए । छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो ।

तर केही समययता अनिलको गाउँमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँसमाज सबै चिन्तामा परेका छन् । चौधरी दम्पतीका दुई छोरी र एक छोरा छन् । दुई छोरीको बिहे भइसक्यो । उनीहरू आआफ्नो घर गरी बसेका छन् । आफूहरूको एउटै आशाभरोसा छोरालाई मृत्युदण्ड सुनाइएपछि बुढेसकालमा सहारा दिने लठ्ठी भाँचिएको बुबा श्यामकिशोरले बताए । ‘छोराले कमाएर पठाउँथ्यो’, उनी भक्कानिए र भने, ‘हामी बूढाबूढीको मुखमा अन्न पथ्र्यो । अब के होला हामी र हाम्रो छोराको अवस्था ? केही सोच्नै सकेका छैनौं ।’

छोराले कमाएर पठाउँथ्यो र हामी बूढाबूढीको मुखमा अन्न पथ्र्यो, अब के होला हामी र हाम्रो छोराको अवस्था ?
श्यामकिशोर चौधरी, अनिलका बुबा

जेलमा छोरासँग अहिले पनि कुरा हुन्छ । तर फोनमा बोलिरहँदा अनिल पनि भक्कानिन्छन् । ‘म बाँच्दिनँ, स्वदेश फर्किन पनि पाउन्नँ भन्दै फोनमा छोराले सुनाउँछ,’ बाबु श्यामकिशोरले भने, ‘त्यसैले उसको आत्मबल बढाउन मन कठोर पारेरै भए पनि हाँसेर कुरा गर्छौं । ऊसँग फोनमा कुराकानी गर्दा रुने अवस्था रहन्न । हामी नै रोयौं भने छोरो त्यत्तिकै रुन्छ ।’

त्यसैले श्यामकिशोरले अहिले पुकार गरिरहेका छन्, नेपाल सरकार र भगवान्लाई पनि । ‘सुबह-साम नेपाल सरकार र भगवान्सँग पुकारा गरिरहेको छु’, उनले भने, ‘छोरालाई जसरी पनि फर्काइदिनुस् । बरु मसँग भएको सबै धनसम्पत्ति सरकारले लेओस् । तर छोरालाई मृत्युदण्डबाट उतारिदेओस् ।’

अनिललाई स्वदेश फर्काउन नेता, सरकार एवं सहयोगी हातलाई समेत उनको परिवारले गुहारिरहेको छ । अनिल कोमल इन्टरनेसनल सर्भिस प्रालिमार्फत २०१५ अगस्ट २७ मा कतार गएका हुन् । उनी त्यहाँको कारवास कम्पनीमा सामान्य कामदारका रूपमा काम गर्दैै आएका थिए । तर एक्कासि उनी सन् २०१७ को अप्रिल पहिलो साता पक्राउ परे ।

डेढ लाख रुपैयाँ ऋण गरेर छोरालाई कमाउन विदेश पठाएका श्यामकिशोरसँग दुई धुर घडेरी र सात कठ्ठा खेत छ । पहिले उनको घर थियो । तर त्यो अहिले भत्किएको छ । त्यसैले मासिक आठ सय रुपैयाँ भाडा तिरेर छिमेकीको घरमा कोठा लिएर दम्पती बसिरहेका छन् । र अहिले उनीहरूले ठेलागाडामा सानो पसल चलाएका छन् ।

छोरालाई मृत्युदण्ड सुनाएपछि उनीहरू अहिले न पसल राम्ररी चलाउन सकेका छन्, न आफ्नो स्वास्थ्यको ख्याल गर्न नै । पीरैपीरले गीता र श्यामकिशोर दुब्लाएर ख्याउटिएका छन् ।

छोरा घर फर्किएपछि नयाँ घर बनाउने उनीहरूको सपना थियो । घर मात्र होइन, अनिलको घरबार जोड्न श्यामकिशोरले केटीसमेत खोज्दै थिए । तर ती सपना अहिले गौण बनेका छन् ।

छोरालाई मृत्युदण्ड सुनाइएपछि उसलाई स्वदेश फर्काउन पहल गर्न सरकारको दैलो घचघच्याउन काठमाडौं आवतजावतमै श्यामकिशोरको ६० हजार रुपैयाँ सकिइसक्यो । तर पनि उनले हिम्मत हारेका छैनन् । साहूसँग ऋण लिएरै भए पनि बारम्बार काठमाडौं पुगेर छोरो फर्काइदिन सरकारलाई आग्रह गर्न छाडेका छैनन् उनले ।

कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा अनिलको जीवन रक्षाको पहल गरिरहेको छ । दूतावासले मृत्युदण्डको फौसलाविरुद्ध कतारको पुनरावेदन अदालतमा मुद्दा दर्ता गरिएको छ ।